काठमाण्डु – सामरिक रूपमा निकै संवेदनशील मानिएको हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई ‘भारी मूल्य चुकाउन’ कारबाही गरिएको घोषणा गरेको हो।
युद्धको सुरुमा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको क्रममा यी हमलाहरू भएका हुन्। यसले जलमार्गलाई पुनः खोल्ने, इरानको आणविक कार्यक्रम नियन्त्रण गर्ने र फेब्रुअरी २८ देखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको वार्तालाई थप कठिन बनाएको छ।
अमेरिकी हमलाबाट इरानको क्युशम टापु, बन्दर अब्बास र सिरिक सहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् र छर्रा लागेर केही मानिसहरू घाइते भएका छन् । यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन।
इरानका उप–परराष्ट्र मन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लङ्घन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाफ दिने चेतावनी दिएका छन्।
अर्कातर्फ, अमेरिकी सेन्ट्रल कमान्डले इरानको यो आक्रामक व्यवहार बिनाकारण भएको र यसले स्पष्ट रूपमा युद्धविरामको उल्लङ्घन गरेको दाबी गरेको छ।
सैन्य हमला गर्नुअघि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथि अस्थायी रूपमा फुकुवा गरिएको तेल प्रतिबन्धको छुटलाई खारेज गरिदिएको थियो। जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको १४ बुँदे समझदारीको हिस्सा स्वरूप इरानलाई तेल र पेट्रोल उत्पादनहरू बिक्री गर्न अनुमति दिने लाइसेन्स दिइएको थियो।
अमेरिकाको कदमलाई इरानको परराष्ट्र मन्त्रालयले सम्झौताको उल्लङ्घन भन्दै यसले अमेरिकी सरकारको खराब नियत, अस्थिरता र अविश्वसनीयता पुष्टि गरेको आरोप लगाएको छ।
खाडी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुज्रिरहेका तेल ट्याङ्करहरूमा आक्रमण भएको भन्दै इरानको कडा निन्दा गरेका छन्। गत महिना भएको १४ बुँदे सम्झौताले दुवै देशबीचको युद्धविराम लम्ब्याएको थियो। उक्त सम्झौतामा दुवै देशबीच ’सबै मोर्चामा’ द्वन्द्व अन्त्य गर्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि ३०० अर्ब डलरको कोष प्रतिबद्ध गर्ने उल्लेख थियो।
यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणपछि तेहरानले हर्मुज बन्द गरिदिएको थियो, जहाँबाट विश्वको कुल तेल र ग्यास आपूर्तिको करिब पाँचौँ हिस्सा ओसारपसार हुने गर्छ। द्वन्द्वका क्रममा इरानले सो जलमार्गमा आफ्नो सार्वभौमसत्ता स्थापित गर्न ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ गठन गरेको थियो।
नयाँ सम्झौताअनुसार ओमान र इरानले मिलेर सो जलमार्गको व्यवस्थापन गर्ने र जहाजहरूबाट ‘सेवा शुल्क’ समेत लिन पाउने सहमति भएको इरानी समाचार एजेन्सी फार्सले जनाएको थियो।
यता अमेरिकाले इरानमाथि नयाँ सैन्य आक्रमण सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। होर्मुजको जलमार्गमा तीनवटा ट्यांकरमाथि आक्रमण भएलगत्तै अमेरिकाले इरानविरुद्ध कडा कदम चाल्दै तेल व्यापारमाथिको प्रतिबन्ध पुनः लागू गरेको छ।
अमेरिकी कच्चा तेलको मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ। यससँगै लगानीकर्ताहरूले मुद्रास्फीति र उच्च ब्याजदरको जोखिमलाई ध्यानमा राख्दा १० वर्षे ट्रेजरी भाउमा पनि गिरावट आएको छ।




प्रतिक्रिया