कर्मचारी अस्पतालको औषधि खरिदमा २ करोड ९१ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

कर्मचारी अस्पतालको औषधि खरिदमा २ करोड ९१ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी सेवा सञ्चालनमा अनियमितता गरी करिब २ करोड ९१ लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याएको आरोपमा ८ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी औषधि आपूर्ति नै नभई बिल तथा सफ्टवेयरमा प्रविष्टि गर्ने, म्याद गुज्रिएका औषधि व्यवस्थापन नगर्ने तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको उजुरीमाथिको अनुसन्धानपछि आरोपपत्र दायर गरिएको हो ।

अनुसन्धानबाट फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दीपा ढुङ्गाना, लवेन्द्र कुँवर र दीपक सापकोटा, स्टोर किपरहरू विनोद पोखरेल, केशवराज न्यौपाने र शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारीले आफ्नो पदको दुरुपयोग गरी अस्पतालको सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ बमोजिम प्रत्येक आर्थिक वर्षको अन्त्यमा खरिद, बिक्री र मौज्दात औषधिको सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) तयार गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि त्यसको पालना गरिएको थिएन । महालेखा परीक्षकको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनले पनि कमजोरी औँल्याएको थियो ।

आपूर्तिकर्तासँग भएको सम्झौताअनुसार बिक्री नभई म्याद गुज्रिएका औषधि फिर्ता गरी प्रतिस्थापन गर्नुपर्ने तथा आवश्यक परे धरौटी रकमबाट कटौती गर्नुपर्ने व्यवस्था हुँदाहुँदै जिम्मेवार कर्मचारीहरूले म्याद गुज्रिएका औषधि नभएको भन्दै गलत जानकारी दिएर आपूर्तिकर्ताको धरौटी रकम फिर्ता गराएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

निजामती कर्मचारी अस्पतालको मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिले तयार गरेको प्रतिवेदनअनुसार यस कार्यबाट नेपाल सरकार अन्तर्गतको निजामती कर्मचारी अस्पताललाई २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुगेको निष्कर्ष निकालिएको छ ।

सोही आधारमा आयोगले बिगो कायम गर्दै संलग्न आठै जना प्रतिवादीविरुद्ध भ्रष्टाचारसम्बन्धी प्रचलित कानुनबमोजिम सजायको मागसहित विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको जनाएको छ ।