ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन चौबीसै घण्टा अनुगमन सुरु गरिएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

असार २० गते चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका–१ घर भई हाल बेलहट्टामा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरतको मृत्यु भएको थियो ।

मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ । रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई चौबीसै घण्टा निगरानीमा राखिनेछ ।

उनले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्‍याएर आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

यसैबिच ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिए । घटनाको ३ दिनभित्रै मृतकका परिवारलाई जनही १० लाखका दरले २० लाख रुपैयाँ राहत रकम प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनही ५० हजारका दरले थप १ लाख उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।