काठमाण्डु – अस्थायी युद्धविराम र समझदारी पत्र भंग भएसँगै अमेरिकाले इरानका विभिन्न सहरहरूमा फेरि भीषण बमबारी गरेको छ। होर्मुज जलमार्गको किनारमा रहेका विभिन्न सहरमा भीषण विस्फोट गरिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सहमति सकिएको घोषणा गर्दै अमेरिकी सेनालाई इरानका विभिन्न रणनीतिक क्षेत्रमा शृङ्खलाबद्ध र ठुलो मात्रामा हवाई आक्रमण गर्ने अनुमति दिएका छन्।
आक्रमणमा इरानमा एक जनाको मृत्यु भएको छ भने चाबहार भन्ने शहरमा व्यापक रूपमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। चाबहारमा दुई वटा डक (घाट) र एउटा समुद्री ट्राफिक नियन्त्रण टावरमा पनि क्षति पुगेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डले इरानले हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमाथि गरेको आक्रमणको बदलास्वरूप थप शक्तिशाली आक्रमणहरू गरिएको पुष्टि गरेको छ। एयरफोर्स वान विमानमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान द्वन्द्वलाई पूर्ण–स्तरको परम्परागत युद्ध भन्न नमिल्ने दाबी गरे।
उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेका छन्, ‘यदि इरानले पुनः जहाजहरूमाथि बमबारी गरेमा स्थिति योभन्दा धेरै भयावह र खराब हुनेछ।’
बुधबार राति भएका हवाई आक्रमणहरू अघिल्लो दिनको तुलनामा भूगोल र क्षेत्रका हिसाबले निकै व्यापक र भीषण पाइएको अन्तर्राष्ट्रिय सञ्चार माधयमहरूले जनाएका छन्।
मंगलबार र बुधबार रातिको हवाई आक्रमण युद्धविराम घोषणा पछिकै सबैभन्दा ठुलो भएको बताइएको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यो कारबाही होर्मुज क्षेत्रमा नेभिगेसनको स्वतन्त्रता कायम राख्न र इरानको क्षमतालाई कमजोर बनाउन गरिएको हो।
अमेरिकी आक्रमणहरू मुख्य गरी इरानी स्लामिक रिभोलुसनरी गार्ड कप्र्सको तटीय राडार, एन्टि–शिप मिसाइल र हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी गरिएका छन्। आक्रमणका कारण इरानका धेरै तटीय सहरहरूमा विद्युत आपूर्ति बन्द भएको छ।
दक्षिण–पूर्वी र तटीय क्षेत्रः हर्मोज स्ट्रेटको निगरानी गर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण सहर सिरिकसहित बन्दर अब्बास, आबु मुसा, जास्क र क्युशम टापुमा ठुला विस्फोटका आवाजहरू सुनिएको छ ।
यस्तै अर्को महत्त्वपूर्ण बन्दरगाह सहर चाबहारमा सैन्य तथा नागरिक पूर्वाधार र घाटहरूलाई लक्षित गरी भारी बमबारी गरिएको छ।
दुवै देशबीच युद्धको खतरा बढेपछि मध्यस्थता गरिरहेका क्षेत्रीय मुलुकहरू सम्झौता बचाउन चौबीसै घण्टा प्रयास गरिरहेका छन्। कूटनीतिक च्यानलहरू पूर्ण रूपमा बन्द नभए पनि अहिले निकै साँघुरो र निष्क्रिय अवस्थामा पुगेको समाचारमा उल्लेख छ।
पाकिस्तान र कतारका परराष्ट्र मन्त्रीहरूका साथै इजिप्टका खुफिया प्रमुखले वार्ताको नेतृत्व गरिरहेका छन्। साथै, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र साउदी अरेबियाका नेताहरू पनि द्वन्द्वलाई थप चर्किन नदिन कूटनीतिक प्रयासमा जुटेका छन्।
इरानले भने अमेरिकाले नै सम्झौता विपरीत लेबनानमा पूर्ण युद्धविराम र इजरायली सेना फिर्ता गराउन असफल भएको आरोप लगाउँदै आएको छ। यदि यो द्वन्द्व यसरी नै तन्किरहने र तेल आपूर्ति ठप्प हुने हो भने यसले विश्व बजारमा इन्धनको मूल्य बढाउन सक्ने विश्लेषण गरिएको छ।




प्रतिक्रिया