काठमाण्डु – उद्योगी तथा व्यवसायीहरूसँग सामूहिक छलफल गरेको प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले निर्माण व्यवसायीहरूसँग पनि संवाद गर्न लागेका छन् ।
प्रधानमन्त्री शाहले बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवाद गर्दैछन् ।
प्रधानमन्त्री भएपछि शाहले लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग पहिलोपटक बुधबार छलफल गरेका थिए ।
बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका थिए ।
निर्माण व्यवसायीहरूसँगको भेटमा पनि निर्माण व्यवसायीका समस्या तथा चुनौतीका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नियमित रूपमा निजी क्षेत्रका विभिन्न संगठनसँग भेट्ने कार्यक्रम छ । त्यही अनुसार बिहीबार निर्माण व्यवसायीहरूसँग संवाद गर्न लागेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले प्रधानमन्त्रीसँग छलफलमा आफ्ना समस्या सिधै प्रधानमन्त्रीसँग राख्ने अवसर पाउने बताए ।
उनले निर्माण व्यवसायीहरूको काम गर्ने वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारका विषय प्रधानमन्त्री समक्ष कुरा राख्ने बताए ।




प्रतिक्रिया