काठमाण्डु – तिब्बतका निर्वासित नेता दलाई लामाको जन्मोत्सव कार्यक्रममा नेपालस्थित विदेशी कूटनीतिज्ञहरू सहभागी भएकोमा चीनका लागि नेपालका पूर्वराजदूतहरूले आपत्ति प्रकट गरेका छन् ।
सोमबार काठमाण्डुमा दलाइ लामाको १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको थियो । जन्मोत्सव कार्यक्रमामा विभिन्न देशका विदेशी नियोगका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
काठमाण्डुको नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा भएको कार्यक्रममा उनीहरू सहभागी भएका थिए ।
पूर्वराजदूतहरूले दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागितालाई लिएर आपत्ति जनाएका हुन् ।
उनीहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै लामाको जन्मोत्सव कार्यक्रमा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति गम्भीर चिन्ताको विषय भएको जनाएका छन् ।
चीनका लागि पूर्व राजदूतहरू राजेशवर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त विज्ञप्तिमाफंत् नेपालले सधैँ दृढतापूर्वक पालना गर्दै आएको एक चीन नीति विपरीत यस्ता गतिविधि हुनु निन्दनीय रहेको उल्लेख गरेका छन् ।
‘नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने र गर्न नदिने प्रतिबद्धता परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको थियो। के अहिले त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो ? के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौँ ? विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपाल र चीनबीचको दौत्य सम्बन्ध र नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन्। यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत धक्का पुग्ने उनीहरूको ठहर छ।
नेपाल सरकार र सरोकारवाला निकायहरूलाई सचेत रहन अपिल गर्दै विज्ञप्तिमा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइएको छ।





प्रतिक्रिया