काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
सभामुख र श्रीवास्तवबीच बिहीबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो।
उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध तथा पारस्परिक सहयोगका विषयमा आधा घण्टा छलफल भएको थियो।
भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे ।
उनले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए ।
सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उहाँलाई नेपालमा स्वागत गर्न तत्पर रहेको बताए ।
सभामुख अर्यालले भारतले संसदीय प्रक्रियाको प्रभावकारिता, पारदर्शिता र पहुँच अभिवृद्धिका लागि डिजिटल समाधान तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ लगायतका प्रविधिमैत्री अभ्यास अवलम्बन गरेकोमा प्रशंसा व्यक्त गर्दै भारतको डिजिटल संसदीय प्रणाली, कागजरहित कार्यप्रणाली तथा प्रविधिमैत्री विधायी अभ्यासबाट ज्ञान आदान–प्रदानको अपेक्षा व्यक्त गरे ।
राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिए ।
उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबीचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।




प्रतिक्रिया