सरकारले सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अझ भयावह जोखिममा धकेल्याे : आङ्देम्बे

सरकारले सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अझ भयावह जोखिममा धकेल्याे : आङ्देम्बे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सुकुमबासी बस्तीबाट हटाइएका नागरिकलाई अझ भयावह जोखिममा धकेलेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै आङ्देम्बेले एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको आरोप लगाएका हुन् ।

उनले सुकुमवासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन् । ‘प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु-ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ’, उनले भने, ‘आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु- त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’

जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका सुकुमबासी नागरिकलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले उनीहरूलाई जोखिमबाट मुक्त गरेको नभई एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको यथार्थ उजागर भएको उनले उल्लेख गरेका छन् ।

आङ्देम्बेले सरकारले प्रश्न उठाउने अधिकारसमेत निषेध गर्न खोजेको भन्दै पनि आपत्ति जनाएका छन्। ‘झन् दुःखद र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइयो। म सोध्न चाहन्छु, लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ? ’ उनले भने।

उनले प्रधानमन्त्री बालेनलाई सुकुमबासी नागरिकसँग गरेको वाचाको जवाफ दिन आग्रह गर्दै भने, ‘प्रधानमन्त्रीजी, सुकुमबासी नागरिकसँग गर्नुभएको वाचाको जवाफ दिनुहोस्। किनभने इतिहासले तपाईंका खोक्रा भाषणलाई होइन, नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने कुराको हिसाब राख्नेछ।’