कतारका पूर्वराजा अल थानीको निधन

कतारका पूर्वराजा अल थानीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कतारका पूर्वराजा फादर अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता थानीको आइतबार बिहान निधन भएको हो।

अमिरी दिवानले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ईश्वरको इच्छा र भाग्यप्रतिको अटल विश्वासका साथ अमिरी दिवानले राष्ट्रले आफ्नो महान् व्यक्तित्व गुमाएकोमा गहिरो दुःख व्यक्त गर्दछ। परमपिता परमेश्वरले उहाँमाथि कृपा गरून्। फादर अमिर महामहिम शेख हमद बिन खलिफा अल थानीको आज बिहान निधन भएको छ।’

सन् १९९५ देखि २०१३ सम्म कतारको शासन सम्हालेका शेख हमदलाई ऊर्जा–सम्पन्न कतारको तीव्र विकासका प्रमुख योजनाकारका रूपमा चिनिन्छ। उनको शासनकालमा कतारले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै अन्तर्राष्ट्रिय समुदायमा आफ्नो प्रभाव र प्रतिष्ठा उल्लेखनीय रूपमा बढायो।

आज कतारको राजनीतिक प्रभाव उत्तर अफ्रिका, मध्यपूर्वदेखि एसियासम्म फैलिएको छ। सन् २०२२ मा कतारले विश्वकै सबैभन्दा धेरै हेरिने फुटबल प्रतियोगिता फिफा पुरुष विश्वकप आयोजना गरेको थियो। उद्घाटन खेलका क्रममा उपस्थित समर्थकहरूले शेख हमदलाई उत्साहपूर्ण ताली बजाएर सम्मान गरेका थिए।

उनको कार्यकालमा कतारको पहिलो स्थायी संविधान जारी गरिएको थियो। साथै, नगरपालिकास्तरीय निर्वाचनको सुरुवात गरियो, जसमा महिलालाई मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्रदान गरिएको थियो।

शेख हमदले सन् २०१३ मा सिंहासन त्याग गर्दै त्यसबेला ३३ वर्षीय आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए।