काठमाण्डु– लगातारको भारी वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएपछि सवारीसाधनको आवागमन पूर्णरूपमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका आवागमन पूर्णरूपमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा सोमबार साँझ जारी सूचनाअनुसार निरन्तर वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण सवारीसाधन सञ्चालन स्थगित गरिएको छ ।
प्रशासनले काठमाण्डु उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै काठमाण्डुतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि यात्रा नगर्न विशेष अनुरोध गरेको छ ।
यस्तै भारी वर्षा भएका कारण धुलिखेल (बिपि राजमार्ग) फर्पिङ (दक्षिणकाली) हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको छ । हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज पनि गाडीहरु छाडिएको छैन ।
बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ ।
फर्पिङ-फाखेल-सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक पनि बन्द गरिएको छ । कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो सडक पनि बन्द छ ।






प्रतिक्रिया