नेकपाले भन्योः सञ्चार गृहको गेटमा पार्किङ गरिएका गाडी जफत गरियोस्

नेकपाले भन्योः सञ्चार गृहको गेटमा पार्किङ गरिएका गाडी जफत गरियोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राजनीतिक व्यक्ति, व्यवसायिक प्रतिष्ठान र विभिन्न सञ्चार माध्यमका गेट अगाडि शंकास्पद गाडी पार्किङ गरिएको विषयमा आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद् रमेशकुमार मल्लले सरकार संरक्षित व्यक्तिहरुद्वारा उक्त घटना गराइएको बताए ।

गणेश नेपालीको आत्मदाहको घटना तोडमोड गर्न सरकारद्वारा परिचालित मानिसहरुले न्यूरोडसहित राजधानीका सहरमा गाडी तेस्र्याएर अस्तव्यस्त बनाएको आरोप लगाए ।

मल्लले सञ्चार माध्यम र काँग्रेस सभापति गगनकुमार थापानिवास लगायत स्थानमा गाडी पार्किङ गर्नेमाथि छानबिन गरी कारबाही गर्न माग गरे । उनले ती गाडी जफत गरिनुपर्ने बताए ।

‘गणेश नेपाली आत्मदाह गरेर दुःखद निधन भएको घटनाले देश नै तरंगित भएको छ । उहाँको निधनको घटनालाई तोडमोड गर्न हिजो र अस्ती दुई दिन जुन घटना राजधानीमा घटे यो निकै गम्भीर छ । राज्य संरक्षित मानिसहरुबाट न्यूरोड लगगायत मुख्य सहरका गल्ली र सडकहरुमा दिनभरजसो सडक जाम गरियो, अवरुद्ध गरियो, अस्तव्यस्त गरियो । हिजो मिडिया हासउको अगाडि एकाबिहानै गाडीहरु तेस्र्याइयो । प्रमुख प्रतिपक्षी दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम भयो’, मल्लले भने, ‘दिनभरि के हो कसो हो भनेर होहल्ला धेरै भयो । प्रकारान्तरले देखियो कि राज्य संरक्षित केही मानिसहरुबाटै यो घटना गरियो । म राज्यलाई सोध्न चाहन्छु । ५ सयदेखि लाखौंको जरिवाना गर्छु भन्ने सरकारले आज ५ सय रुपैयाँको चिट काटेर उनीहरुलाई छोड्दैछ भन्ने सुनियो । यो राज्य आतंक राज्य आफैैं ले यो अवस्था सिर्जना गर्ने, उनीहरुलाई ५ सयको चिट काटेर घर पठाउने यो कुनै हालतमा हुन सक्दैन । यिनलाई लाखौंको जरिवाना गराइनुपर्छ र ती गाडीहरु जफत गरिनुपर्छ भन्ने मेरो जिकिर हो । जसले यो गतिविधि गरेको छ र योजना बनाएको छ, छिटोभन्दा छिटो छानबिन गरेर कारबाही गर्नुपर्दछ ।’


मल्लले सरकार नेतृत्वकर्ता रास्वपाले विज्ञप्ति निकालेर घटनाको विरोध गर्दैमा जिम्मेवारी पूरा नहुने बताए ।

उनले रास्वपालाई यो विषयलाई गम्भीरतापूर्वक दिन र सन्त्रासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने धारणा बदल्न चेतावनी दिए ।

उनले सरकारका यस्तै क्रियाकलाप जारी रहे रास्वपालाई मतादेश दिएका जनताले आन्दोलनमार्फत उक्त मातादेश फिर्ता लिने बताए ।

‘यदि राज्य सञ्चालक र सत्ता सञ्चालकको टाउकोमा त्यो धारणा बनेको छ भने सर्वथा गलत छ । हिजो जुन जनताले तपाईंहरुलाई मतादेश दिएर यहाँ पठाउनुभएको छ । भोलि त्यही जनताले मतादेश फिर्ताको निम्ति आन्दोलन गर्ने दिन टाढा छैन’, मल्लले भने ।