प्रहरीको अनुहारमा हिजो ओली र लेखक देखिन्थ्यो, आज बालेन र सुधन देख्न थालियोः रास्वपा सांसद् खरेल

प्रहरीको अनुहारमा हिजो ओली र लेखक देखिन्थ्यो, आज बालेन र सुधन देख्न थालियोः रास्वपा सांसद् खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुलभ खरेलले जनताले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको अनुहार देख्न थालेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा खरेलले कीर्तिपुरको होल्डिङ सेन्टर बाढीले डुबेपछि अवस्था बुझ्न गएका जेनजी अभियानी माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरी चरम यातना दिएकामा आपत्ति जनाए । प्रहरीले भ्यानभित्र लगेर अन्सारीलाई कुटेको उनको भनाइ थियो ।


‘माजिद अन्सारीलाई पक्राउ मात्र गरिएको छैन, प्रहरीद्वारा अत्यधिक बल प्रयोग भएको छ । लुछिएको पनि छ, मुक्का हानिरहेको अवस्था पनि छ । उहाँको उपचारको विषयमा कसले हो त्यो क्षतिपूर्ति हेर्ने अथवा नहेर्ने ?’, उनले भने, ‘म आफैँ पनि कानुनको विद्यार्थी भएको नाताले माजिद अन्सारीको विषयमा जसरी प्रहरीले कामकारबाही गर्‍यो, त्यो विषयमा मेरो पनि ध्यानाकर्षण भएको कुरा म समिति सभापतिलाई जानकारी गराउन चाहन्छु । र, सभापतिमार्फत सरकारको पनि यस विषयमा के धारणा हो भन्ने कुराको जानकारी लिन चाहन्छु ।’

खरेलले अन्सारीमाथि भएको कुटपिट र ज्यादतीबारे सरकारको ध्यानाकर्षण गराउँदै माफी माग्न आग्रह गरे ।


खरेलले अन्सारीलाई पक्राउ मात्र नगरी मुक्का हानिएको, लुछिएको र अत्याधिक बल प्रयोग गरिएको भन्दै आपत्ति जनाए ।

उनले अन्सारीको उपचार गर्न र क्षतिपूर्ति दिन सरकारसँग माग गरे । फरक मत राख्नेमाथि उग्र भावले प्रस्तुत नहुन उनले प्रहरीलाई आग्रह गरे ।

खरेलले विगतमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ‘अन्तिम इच्छा’ सोधेको स्मरण गर्दै त्यतिबेला आफूले प्रहरीको अनुहारमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको अनुहार देखेको उल्लेख गरे ।


‘मेरा पार्टी सभापतिलाई एकजना प्रहरीले ‘तपाईंको अन्तिम इच्छा के हो ? भनेर सोधेको थियो । मैले त्यसमा त्यो प्रहरीको बोली कहिल्यै देखिनँ, त्यसमा म तत्कालीन सत्ताको, तत्कालीन प्रधानमन्त्रीको र तत्कालीन गृहमन्त्रीको अनुहार देख्थेँ । मेरा पार्टी सभापति रवि लामिछानेलाई राज्यले जुन व्यवहार गर्‍यो, मैले त्यहाँ उहाँहरूको अनुहार देखेको थिएँ’, उनले भने, ‘प्रहरीको बोलीमा, आन्दोलनकारी वा विपक्षी वा समाजमा बसेका प्रत्येक व्यक्तिहरूलाई ‘राजनीति नगर’ भन्दै गर्दा जनताले त्यहाँ अहिलेको गृहमन्त्री र प्रधानमन्त्रीको अनुहार देखेँ भने के हुन्छ ? जसरी मैले हिजो त्यसरी देख्थेँ ।’


वर्तमान सरकारलाई असफल हुने कुनै छुट नहुने बताउँदै उनले फरक मत राख्नेहरुमाथिको दमन रोक्न माग गरे ।

बाटो धेरै लामो रहेको भन्दै उनले बाटो नबिराउन सरकारलाई आग्रह गरे । विपक्षीले समेत यो सरकार असफल भएको हेर्न नचाहेको उनको भनाइ थियो ।

‘यो सरकार असफल होस् भनेर विपक्षी वा प्रतिपक्षले पनि चाहेका छैनन् । यो सरकारलाई असफल हुने छुटै छैन । त्यही भएर नआत्तिकनै मानवअधिकारका विषयहरूमा संयमित होला र समाजका सबैभन्दा बढी प्रभावित व्यक्तिहरूलाई सबैभन्दा बढी सम्मान दिएर अगाडि बढ्नुपर्छ’, उनले भने ।

खरेलले मानव अधिकारहरूलाई संरक्षित गर्न, संविधान तथा कानुनका विविध प्रक्रिया मान्न तथा फरक मतलाई स्थान दिन सरकारलाई आग्रह गरे ।

‘समाजमा फरक मत सबैले राख्छन्। हामीले पनि हिजो फरक मत राखेरै आज यति ठूलो दल बनाएका हौँ । समाजमा फरक मत मात्रै राख्दैमा कसैप्रति पनि उग्र भावले प्रस्तुत नहुन म नेपाल प्रहरीलाई आग्रह गर्दछु’, उनले भने ।