काठमाण्डु – आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।
बाराको सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै शुक्रबार औपचारिकता प्रदान गर्ने तयारी भएको हो।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच छलफल भएको थियो। सोही छलफल र सहमतिलाई जग मानेर शुक्रबार अन्तिम सम्झौताको तयारी गरिएको हो।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा छन्।
पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व)का अवधेश कुसवाहले गरेका छन् । टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी छन् ।




प्रतिक्रिया