काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
देशका पहाडी र तराई भूभागको धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको महाशाखाले जनाएको छ ।
शनिबारदेखि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ ।
राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्ग हित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
देशका पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
अति भारी वर्षाको सम्भावना रहेका प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहने भएकोले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया