काठमाडौं– एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गरेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयमाथि कडा टिप्पणी गरेका छन् ।
कानुन व्यवसायीसमेत रहेका न्यौपानेले सामाजिक सञ्जालमार्फत न्यायालयको पुनःसंरचनाबिना सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएका हुन् ।
‘विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमहरूले स्पष्ट पारिरहेको छ, न्यायालय पुनःसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन,’ उनले लेखेका छन्, ‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। यस कर्मलाई जति ढिला गर्यो, त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ ।’
उनले राज्यका सबै निकायले परिवर्तनलाई आत्मसात गर्न सके मात्र देश परिवर्तन सम्भव हुने उल्लेख गरेका छन्।
आफ्नो अभिव्यक्ति आवेगमा नभई गम्भीर समीक्षा र निष्कर्षका आधारमा आएको दाबी गर्दै न्यौपानेले लेखेका छन्, ‘यो मेरो आवेगमा आएर बुझेको बुझाइ नभई गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष हो, जय देश।’




प्रतिक्रिया