काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारका पक्षमा उहाँले पुर्याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ’, दाहालले जारी गरेको शोक सन्देशमा उल्लेख गरेका छन् ।
डा. पाण्डेको शुक्रबार साँझ काठमाण्डुको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो ।
यस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भिकतापूर्वक उभिएका नागरिक अगुवा डा. पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट सङ्घर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो ।’
अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभएको थापाको भनाइ छ । सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेमा थापाले विश्वास व्यक्त गरेका छन् ।
‘सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताका पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ, उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ’, सभापति थापाले लेखेका छन् ।
यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नेपालको लोकतान्त्रिक आन्दोलनका प्रखर संवाहक, वरिष्ठ नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सचिवालयले शोक वक्तव्य जारी गर्दै भट्टराईले २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनमा नागरिक समाजको नेतृत्व गर्दै डा पाण्डेले देशको राजनीतिक तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए।
उनले डा. पाण्डेको निधनसँगै देशले एक निष्ठावान् बौद्धिक व्यक्तित्व, लोकतान्त्रिक मूल्य–मान्यताका दृढ पक्षधर तथा निष्कलङ्क नागरिक पहरेदार गुमाएको बताएका छन्।




प्रतिक्रिया