एमालेले संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई प्रशिक्षण दिँदै

एमालेले संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई प्रशिक्षण दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन नेकपा (एमाले)ले सांसदहरूलाई प्रशिक्षण दिन लागेको छ ।

पार्टीको संसदीय विभागले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्‍मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।

विभागका प्रमुख एवं सचिव पद्मा अर्यालका अनुसार संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन्। यस्तै संसदीय समितिहरूका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा पनि सांसदहरूलाई जानकारी दिइनेछ ।

यसैगरी पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने छन् । अर्यालका अनुसार हरेक सांसदले पार्टी नीति अनुरूप संसद्‍मा भूमिका निर्वाह गर्नुपर्ने भएकाले सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्ने छन्।

कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरूलाई पनि जानकारी गराइएको छ। सम्बन्धित विभागहरूले विषय विज्ञता भएका व्यक्तिहरूको नाम सिफारिस गरेर सांसदहरूलाई संसदीय विषयवस्तुहरूमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ।