८ प्रमुख राजमार्ग अवरुद्ध, १८ जिल्लामा बाढीको जोखिम

८ प्रमुख राजमार्ग अवरुद्ध, १८ जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक पनि अवरुद्ध भएको छ । गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडक पनि अवरुद्ध भएको छ।

यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै आज १८ जिल्लामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना रहेको महाशाखाले जनाएको छ।