मन्त्रिपरिषद् बैठक : आत्मदाह घटनामा छानबिन र मिटरब्याज सम्बन्धी फर्जी लिखत अवैध घोषणा

मन्त्रिपरिषद् बैठक : आत्मदाह घटनामा छानबिन र मिटरब्याज सम्बन्धी फर्जी लिखत अवैध घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आत्मदाहबाट मृत्यु भएका गणेश नेपालीको घटना सम्बन्धमा न्यायिक छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षमा न्यायिक छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने, गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

२०८५ भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्णरूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति गर्ने, अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबिच मिति २०८३/०४/०१ मा भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने निर्णय बैठकले गरेको छ ।

आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि बैठकले गरेको छ ।