संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले बुधबारै खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

नाट्य विद्यामा विद्यावारिधि गरेका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आएका छन् । उनी यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याएका छन् । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उनले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दु:खान्त नाटकको दु:खान्तता सिद्धि’ विषयमा विद्यावारिधि गरेका हुन् ।

शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ । विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।