काठमाण्डु– आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
पाललाई अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालय परिसरमै रंगेहात नियन्त्रणमा लिएको हो।
सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८र७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा अधिकृत पालले ५ लाख रुपैयाँ घुस मागेका थिए ।
आफूभन्दा माथिका कर अधिकृतसहितलाई पनि मिलाउनुपर्ने भन्दै घुस रकम नदिएसम्म अडिट प्रक्रिया अघि नबढ्ने बताएपछि कम्पनीबाट आवश्यक कागजातसमेत संकलन गरिएको थियो ।
घुस बुझ्ने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म प्रतिक्षामा राखिएको थियो ।
साँझ पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए । त्यसपछि पुनः सम्पर्क गर्दै सोही दिन नभई भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको नम्बर पठाएका थिए।
पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएपछि सोही क्रममा अख्तियारको टोलीले उनलाई रकम लिँदै गर्दा पक्राउ गरेको हो ।
पालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




प्रतिक्रिया