२०० र ५०० का भारतीय नोट नेपालमा खुला

२०० र ५०० का भारतीय नोट नेपालमा खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले २०० र ५०० दरका भारतीय नोट नेपालमा चलनचल्तीका लागि खुला गरेको छ ।

यसअघि १०० रुपैयाँ दरका नोट मात्रै चलनचल्तीमा रहेकोमा अब २०० र ५०० दरका नोट समेत नेपालमा सहजै चलनमा आउन व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ हजार रुपैयाँ नबढ्ने गरी सो दरको नोट बोक्न पाइने व्यवस्था गरेको हो ।

यसअघि गत वर्ष भदौमा जारी गरिएको परिपत्रमा २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्था रहे पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्रै बोक्न पाउने व्यवस्था थियो ।

यसले गर्दा भारतबाट नेपाल आउने पर्यटक वा भारतमा रोजगारी गरेर फर्कनेहरूलाई सास्ती हुँदै आएको थियो । ५०० दरका नोट ल्याउन पाउने भएपछि यो सास्ती हट्नेछ ।

तर, यसरी ल्याउने नोटहरू भारत सरकारले सन् २०१६ को नोभेम्बर वा सोभन्दा पछि जारी नोट हुनुपर्ने छ । भारतले नोटबन्दी गरेपछि नेपालमा ठूला दरका भारतीय नोट ओसारपसारमा प्रतिबन्ध लगाइएको थियो ।

नयाँ व्यवस्थाले विदेशी मुद्रा कारोबारसम्बन्धी अन्योल हट्नुका साथै नेपाल आउने भारतीय पर्यटकलाई सहजता पुग्ने बैकले जनाएको छ ।

साथै, विदेशी विनिमय नियमन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा समेत यसले सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।