काठमाण्डु – देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार देशका धेरै ठाउँमा सडक बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन्।
बागमती प्रदेशमा सडक अवरोधको असर धेरै देखिएको छ। काभ्रेस्थित बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेशीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशीस्थित चारकिलो र कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। रसुवाको उत्तरगयास्थित खाल्टेमा बाढीले त्रिशूली–मैलुङ-स्याफ्रुबेशी सडक खण्ड ठप्प भएको छ।
यसैगरी, दोलखाको लामासाँघु–रामेछाप राजमार्ग पूर्ण रूपमा बन्द भए पनि वैकल्पिक बाटो खुलाएर सवारी सुचारु गरिएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा भने सवारी आवागमन सुचारु भएको छ।
कोशी प्रदेशतर्फ अविरल वर्षाका कारण इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ तर त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम र खोटाङको माम्खामा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ।
यस्तै, गण्डकी प्रदेशमा म्याग्दीको बेनी–जोमसोम सडक खण्डको बैसेरी र सुकेबगरमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ। बागलुङस्थित कालीगण्डकी करिडोरको बेलबगरमा भने पहिरो पन्छाएर एकतर्फी सवारी खुलाइएको छ।
यता, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडक पनि पहिरोले नराम्ररी प्रभावित भएका छन्। लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाको खोलावाङमा पहिरो खस्दा घोराही–थवाङ सहिद राजमार्ग र पाल्पाको सिद्धबाबामा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबीसकोटमा बाढीले भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ। मुगुको झ्यारी खोलामा पहिरो जाँदा नाग्म–गमगढी सडक खण्ड पनि ठप्प भएको छ। सडक अवरुद्ध भएका स्थानमा खुलाउने प्रयास भइरहेको छ। सम्बन्धित निकायले जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन यात्रु तथा चालकलाई आग्रह गरेको छ।






प्रतिक्रिया