मल अभावले किसान भारतीय जेलमा पुग्दा पनि सरकार मौन बस्नु बिडम्बनापूर्णः काँग्रेस

मल अभावले किसान भारतीय जेलमा पुग्दा पनि सरकार मौन बस्नु बिडम्बनापूर्णः काँग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रासायनिक मल खरिद गर्न भारत गएका बेला पक्राउ परेका दुई नेपाली किसानको यथाशीघ्र रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेको छ ।

महामन्त्री प्रदीप पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै ती किसानको रिहाइका लागि कूटनीतिक र कानुनी पहल गर्न माग गरेका हुन् ।
नेपालमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवरसाबाट मद खरिद गरेर फर्कने क्रममा सर्लाहीको बलरा नगरपालिकाका किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।


सिंहद्वयलाई २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा राखिएको छ ।

कांग्रेसले घटनाबारे पीडित परिवार र स्थानीय समुदायसँग जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गरेको जनाउँदै ती किसान व्यावसायिक कारोबारका लागि नभई आफ्नै खेतबारीमा प्रयोग गर्ने मल खरिद गर्न भारत गएको जनाएको छ ।

काँग्रेसले किसानले भोग्नुपरेको अवस्था र त्यसपछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा उक्त घटना नेपालमा वर्षौंदेखि दोहोरिँदै आएको रासायनिक मल अभावको परिणाम भएको उल्लेख गर्दै सरकारले समयमै पर्याप्त मल उपलब्ध गराउन नसक्दा किसानहरू हरेक खेतीपातीको मौसममा सास्ती भोग्न बाध्य भएको जनाइएको छ ।


मल आपूर्ति व्यवस्थापनको कमजोरी, दीर्घकालीन योजनाको अभाव र प्रशासनिक असक्षमताको प्रत्यक्ष असर किसानमाथि परेको कांग्रेसको भनाइ छ ।

काँग्रेसले आफ्नै खेतका लागि आवश्यक पर्ने दुई बोरा युरिया र डीएपी मल ल्याउन बाध्य भएका किसान २० दिनदेखि भारतीय जेलमा रहँदा पनि सरकारले प्रभावकारी पहल गर्न नसकेको भन्दै आपत्ति जनाइएको छ ।

मल गोदाममा थन्किएको र किसान जेलमा पुगेको अवस्था अत्यन्त विडम्बनापूर्ण भएको पौडेलको विज्ञप्तिमा छ ।

कांग्रेसले आफ्नै खेतीका लागि मल खरिद गर्न गएका नेपाली नागरिकको सुरक्षा र संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले कूटनीतिक संवाद, कानुनी प्रक्रिया र व्यवहारिक पहलमार्फत तत्काल कदम चाल्नुपर्ने माग गरेको छ ।

यस्तै भारत सरकारसँग पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई सम्मान गर्दै व्यावसायिक तस्करीमा संलग्न नभई आफ्नै खेतीका लागि मल खरिद गर्न गएका किसानप्रति मानवीय दृष्टिकोण अपनाई रिहाइ तथा आवश्यक कानुनी सहजीकरण गरिदिन काँग्रेसले आग्रह गरेको छ ।

नेपाल–भारत सम्बन्ध केवल दुई सरकारबीचको औपचारिक सम्बन्धमा सीमित नभई दुवै देशका नागरिकबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयलाई सोही भावना अनुरूप समाधान गर्न दुवै सरकारसँग आग्रह गरिएको छ ।