काठमाण्डु- परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा सहभागी हुन न्यूयोर्क र सर्बियाको बेलग्रेड जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहलाई सहभागी हुन सुझाव दिइए पनि उनले अनिच्छा देखाएपछि परराष्ट्रमन्त्री खनालले सेप्टेम्बरमा नेपालको प्रतिनिधित्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको हो। भ्रमण टोलीमा मन्त्री खनालकी पत्नी, परराष्ट्र सचिव अमृत राई, सहसचिव कृष्ण ढकाल तथा उपसचिव लोचन खनाल रहनेछन्।
संयुक्त राष्ट्रसंघको महासभाअघि मन्त्री खनाल असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को पहिलो शिखर सम्मेलन सम्पन्न भएको ६५ वर्षको स्मरणमा आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म सर्बियाको बेलग्रेडमा आयोजना हुने स्मरणार्थ उच्चस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन्।
बेलग्रेडमा हुने उक्त बैठकमा मन्त्री खनालसहित सहसचिव कृष्ण ढकाल, उपसचिव मधुसूदन र अन्य एक अधिकारी गरी चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ।
नामको पहिलो शिखर सम्मेलन सन् १९६१ सेप्टेम्बर १ देखि ६ सम्म तत्कालीन युगोस्लाभियाको बेलग्रेडमा सम्पन्न भएको थियो। उक्त सम्मेलनमा नेपालको तर्फबाट तत्कालीन राजा महेन्द्रले सहभागिता जनाएका थिए। नेपाल नामको संस्थापक सदस्य समेत हो।
यसअघि नाम शिखर सम्मेलनमा नेपालबाट प्रधानमन्त्री तहको सहभागिता हुँदै आएको भए पनि यसपटक प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री खनालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
संयुक्त राष्ट्रसंघको महासभा र नामजस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रधानमन्त्री स्वयं सहभागी हुनु नेपालका लागि महत्वपूर्ण कूटनीतिक अवसर हुने कूटनीतिज्ञहरूको धारणा छ। तर प्रधानमन्त्री शाहले यस्ता भ्रमणप्रति खास चासो नदेखाएको उनीहरूको भनाइ छ। प्रधानमन्त्री निकट नेताहरूले उनी एक वर्षसम्म कुनै पनि विदेश भ्रमण नगर्ने बताउँदै आएका छन्। कूटनीतिज्ञहरूका अनुसार यसबाट नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय कूटनीतिक अवसर गुमाउन सक्ने जोखिम रहेको छ।




प्रतिक्रिया