बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया पक्का

बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया पक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हुने पक्का भएको छ ।

एमालेले बागमती प्रदेशको संसदीय दलका नेता नफेर्ने भएपछि थपलिया नै मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको सत्ता साझेदारी सम्झौतामा बागमतीको नेतृत्व एमालेले लिने सहमति भएको हो ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहित शुक्रबार भएको छलफलमा बागतमीमा पार्टीको संसदीय दलका नेता नफेर्ने निर्णय गरेका हुन् । छलफलमा बागमती प्रदेशका सीमित नेताहरु पनि उपस्थित थिए ।

बागमती प्रदेशका एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठले विधि र पद्धति अनुसार नै मुख्यमन्त्री चयन हुने बताए ।

‘पार्टी अध्यक्ष, महासचिवसहितको बैठकमा पार्टीको विधि पद्धति अनुसार नै मुख्यमन्त्री छनौट हुने निर्णय भएको हो’, श्रेष्ठले भने ।

उनका अनुसार दलको नेता थपलिया नै रहेको अवस्थामा अब दलको नेताका लागि चुनाव भने हुँदैन । ‘अब बहुमत सदस्यको समर्थनमा उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ’, उनले भने ।

थपलिया चितवन–१ (१) बाट निर्वाचित प्रदेश सांसद हुन्। उनी दलको नेतामा पनि सर्वसम्मत नै चयन भएका थिए।

यसअघि संसदीय दलको नेता परिवर्तन गरेर किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने चर्चा चलेको थियो । तर थपलियालाई नै मुख्यमन्त्री बनाउने निर्णयमा अध्यक्ष ओली पुगेका हुन् । मुख्यमन्त्रीमा केशव पोखरेलले पनि दाबी गरेका थिए।

पार्टीभित्र सहमतिपछि अब बहुमत सदस्यको हस्ताक्षरसहित थपलियाले मुख्यमन्त्री पदमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन्।