काठमाण्डु – नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएकोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निगमले ग्यास वितरणको सहजताका लागि टेकुबाट पनि एलपी ग्यास विक्री गर्ने तयारी गरेको छ । काठमाण्डु उपत्यकामा बढी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत वितरण थालिएको निगमले जनाएको छ ।
ग्यास अभाव भन्ने उपभोक्ताबाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरुले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन निगमले निर्देशन दिएको छ।
‘निगमको तथ्याङ्क अनुसार दैनिक रुपमा माग अनुसारको ग्यासको आपूर्ति भइरहेको भएतापनि विभिन्न सञ्चार माध्यमहरुमा बजारमा ग्यासको अभाव भनि आएको समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ। १४.२ केजीको ग्यास सिलिण्डरको बिक्रि वितरणको शुरुवात पश्चात बजारमा ग्यास अभाव भन्ने उपभोक्ता वर्गवाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरुले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउनहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि निगमले उपभोक्तालाई आग्रह गरेको छ ।





प्रतिक्रिया