कञ्चनपुर– कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको भवनबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार बिहान महेन्द्रनगरस्थित विश्वविद्यालयको तीनतले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्की गम्भीर घाइते थिए ।
कार्कीलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएकोमा दिउँसो करिब १२ बजे उपचारकै क्रममा उनको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
प्रहरीका अनुसार कार्की होटल व्यवस्थापन विषयको स्नातक तहको प्रवेश परीक्षा दिन विश्वविद्यालय पुगेका थिए । सोही क्रममा उनले भवनको छतबाट हाम फालेका थिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया