सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्री आचार्यको आग्रह

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्री आचार्यको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शनिबार बसेको लुम्बिनी प्रदेश सुरक्षा समितिको भचुर्अल बैठकमा मुख्यमन्त्री आचार्यले पछिल्लो समय तराई–मधेशका केही जिल्लामा घटेका घटना दोहोरिन नदिन र शान्ति सुरक्षा कायम राख्न आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिँदै सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए ।

उनले सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन दिए ।

मुख्यमन्त्री आचार्यले सबै सुरक्षा निकायका प्रतिनिधि उच्च मनोबलका साथ परिचालित भइरहेका उल्लेख गर्दै आवश्यक समन्वय र सही सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा बाँके, कपिलवस्तु, बर्दिया, रुपन्देही र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबिच शनिबार बिहान मुख्यमन्त्री आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गरेका छन् । कोशी प्रदेशको सुनसरीको देवानगञ्जसहित क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले आपसी सम्यमता अपनाउन सबैमा आग्रह गरे ।

मुख्यमन्त्री आचार्यद्वारा जारी अपिलमा समाजमा शान्ति, अमनचैन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख छ । उनले घटनामा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरे भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन ३ तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।