काडमाण्डु – पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित ब्रोड पिक हिमालमा बिहीबार गएको हिमपहिरोमा पुरिएर विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा अर्थात् निम्सदाइको निधन भएकोमा बेलायती राजकुमार र गिनिज वर्ल्ड रेकर्डसले दुःख व्यक्त गरेको छ ।
यक्त हिमपहिरोमा परी पुर्जासहित १० जना आरोहीको पनि निभन भएको छ । यस दुर्घटनामा नेपालका पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पाका साथै विदेशी आरोहीहरू सोहेल शाखी, वाङ झोङ, नादिरा अहमद र म्यालोरी गेइसले ज्यान गुमाएका छन् ।
पर्वतारोहण क्षेत्रमा पुर्जाले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै गिनिज वर्ल्ड रेकर्ड्सले यी विश्वविख्यात आरोहीले मानव इतिहासमा रचेका कीर्तिमान र साहसलाई गहिरो श्रद्धासाथ स्मरण गरेको छ।
सन् २०१९ मा संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मात्र ६ महिना ६ दिनभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गरेसँगै उनी चर्चाको शिखरमा पुगेका थिए।
उनले आफ्नो जीवनकालमा १८ वटा गिनिज वर्ल्ड रेकर्ड बनाएर मानव शरीरको क्षमता र सीमालाई नै नयाँ परिभाषा दिएका थिए। उनको नाममा आठ हजार मिटरभन्दा माथिका हिमालहरूमा ५६ पटक सफल आरोहण गर्नुका साथै पूरक अक्सिजन बिना २८ वटा शिखरहरू चुमेको अद्भुत कीर्तिमान छ।
यसबाहेक, मे २०१९ मा सगरमाथा, ल्होत्से र मकालु हिमाल केवल ४८ घण्टा ३० मिनेटभित्र सफल आरोहण गरी ुट्रिपल क्राउनु को विश्व कीर्तिमान रच्नु र १६ जनवरी २०२१ मा हिउँदको कठिन समयमा केटु हिमालको पहिलो पटक सफल आरोहण गर्ने १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्नुका उनका ऐतिहासिक र अविस्मरणीय उपलब्धिहरू हुन्।
पुर्जाको निधनपछि गिनिज वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले दुःख व्यक्त गर्दै भनेका छन्, ‘निम्सले मानव शरीरले गर्न सक्ने क्षमताको सीमालाई निरन्तर अगाडि बढाइरहे र पर्वतारोहण क्षेत्रमा यस्तो शैलीको नेतृत्व गरे जसले उनलाई मात्र नभई समग्र आरोही समुदायलाई नै नयाँ चुनौती दियो।’
निम्सदाइ हाल विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोस्रो पटक आरोहण गर्ने ऐतिहासिक यात्रामा थिए। उनको अर्को ठूलो महत्त्वाकांक्षा ह्याट–ट्रिक च्यालेन्ज पूरा गर्ने थियो, जसलाई उनले आफ्नो ब्रान्ड ‘निम्सदाइ’ मार्फत प्रवर्द्धन गरिरहेका थिए। यसलाई पर्वतारोहण इतिहासकै सबैभन्दा ठूलो र साहसिक चुनौतीको रूपमा परिकल्पना गरिएको थियो, जसअन्तर्गत उनी विश्वका ती सबै १४ वटा हिमाल तेस्रो पटक आरोहण गर्न चाहन्थे।
यस्तै बेलायती राजपरिवारका सदस्य राजकुमार विलियमले पनि पुर्जाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
ब्रिटिस विशेष सैन्य बलका पूर्व सदस्यसमेत रहेका निर्मल पुर्जा विश्वका महान् पर्वतारोहीहरूमध्ये एक तथा साँचो अर्थमा अद्वितीय व्यक्ति भएको उल्लेख गर्दै प्रिन्स अफ वेल्स राजकुमार विलियमले उनलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
राजकुमार विलियमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘निर्मल पुर्जा र ब्रोड पिकको हिमपहिरोमा परी ज्यान गुमाउनेहरूको दुःखद निधनको खबरले म अत्यन्त दुःखी भएको छु ।’
उनले अगाडि लेखेका छन्, ‘निम्सले नेपाली पर्वतारोहीहरूलाई विश्वसामु चिनाउनुअघि ब्रिटिस सशस्त्र बलमा विशिष्ट सेवा गर्नुभएको थियो । असम्भवजस्तै देखिने लक्ष्यलाई निरन्तर पछ्याउने उहाँको साहस, विनम्रता र निस्वार्थ भावनाले उहाँलाई साँचो अर्थमा अद्वितीय बनाएको थियो । मेरो समवेदना उहाँको परिवार तथा ज्यान गुमाउने सबैका परिवारप्रति छ ।’




प्रतिक्रिया