कांग्रेस विभाजन रोक्न युवा सक्रिय

कांग्रेस विभाजन रोक्न युवा सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसलाई सम्भावित फुटबाट जोगाउन र आन्तरिक विभाजन अन्त्य गर्न युवा नेताहरू सक्रिय भएका छन् ।

उनीहरूले पार्टीमा संवाद, सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्।

अभियानअन्तर्गत साउन २० गते काठमाण्डुमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने छ।

अभियान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार पार्टीका विभिन्न धारबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्दै संगठनलाई थप मजबुत बनाउने उद्देश्यले देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी राष्ट्रिय एकता भेलाको तयारी गरिएको छ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विज्ञप्तिमा लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको उल्लेख गरिएको छ। कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक प्रणालीसमेत कमजोर हुने र त्यसबाट प्रतिगामी शक्तिलाई फाइदा पुग्ने भएकाले पार्टी एकता राष्ट्रिय आवश्यकता भएको अभियानकर्ताहरूको निष्कर्ष छ।

अभियानका अगुवाहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ कुनै व्यक्ति, गुट वा पदका लागि नभई पार्टीको संस्थागत सुदृढीकरण, लोकतान्त्रिक मूल्यको संरक्षण र जनतासँगको सम्बन्ध पुनर्जीवित गर्ने साझा प्रयास भएको स्पष्ट पारेका छन्।

साउन २० गते हुने राष्ट्रिय एकता भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, आगामी कार्ययोजना सार्वजनिक गर्ने तथा लोकतन्त्र र राष्ट्रिय हितका पक्षमा कांग्रेसको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता रहेको छ।

कांग्रेस विभाजनको प्रक्रियाले औपचारिक प्रक्रिया लिएसँगै सो अभियानलाई दबाब दिएर रोक्न समूहले एकता अभियानको नेतृत्व गरिरहेका छन् ।