काठमाण्डु– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फौज नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी तटबन्ध भत्काएको घटना राष्ट्रिय सभामा प्रवेश गरेको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले त्यसबारे सरकारसँग जवाफ मागेका छन् ।
सांसदहरूले सीमा सुरक्षामा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गर्दै भारतीय पक्षका यस्ता गतिविधि रोक्न प्रभावकारी पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।
बैठकको विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् विष्णुबहादुर विश्वकर्माले सीमा क्षेत्रमा भइरहेका घटनाले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाएको बताए ।
उनले सुस्ता मात्र नभई लिपुलेक–लिम्पियाधुरालगायत क्षेत्रमा पनि भारतीय गतिविधि दोहोरिँदै आएको उल्लेख गर्दै सरकारले त्यसको प्रभावकारी प्रतिवाद गर्नुपर्ने बताए ।
‘लिपुलेक–लिम्पियाधुरामा नेपाली भूमिमै सवारी गुडाइयो, सुस्तामा निर्माणाधीन तटबन्ध भत्काइयो र तीन जना नेपाली युवा घाइते भए,’ उनले भने, ‘सरकारले सीमा कहिले सुरक्षित बनाउँछ ? भारतीय हस्तक्षेपको अन्त्य गर्न के पहल भइरहेको छ ?’
उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सरकारले तत्काल कूटनीतिक तथा सुरक्षा पहल अघि बढाउनुपर्ने धारणा राखे ।
जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले पनि सुस्ता घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिन् ।
आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबीका सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी तटबन्ध भत्काएको आरोप लागेको थियो ।
स्थानीयका अनुसार सादा पोसाक र हतियारसहित ठूलो संख्यामा एसएसबीका सदस्य उक्त क्षेत्रमा पुगेका थिए ।




प्रतिक्रिया