काठमाण्डु – एक दशकभन्दा बढी समयदेखि अटल र शक्तिशाली नेताको छवि बनाएका मोदी दुर्लभ रूपमा पछि हट्न बाध्य भएका छन् ।
ककरोच जनता पार्टी (सीजेपी) नेतृत्वको आन्दोलन नयाँदिल्लीदेखि देशभरका सहरहरूमा फैलियो । त्यसको दबाबमा भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए ।
सरकारले आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीमाथि मुद्दा नचलाउनेलगायत केही माग पनि स्वीकार गरेको छ ।
विश्लेषकहरूका अनुसार आगामी वर्ष हुने महत्वपूर्ण राज्य निर्वाचनअघि सार्वजनिक दबाबका कारण प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सत्तामा आएयता पछि हट्न बाध्य भएको यो विरलै देखिएको घटना हो ।
राजनीतिक विश्लेषक तथा मोदीको जीवनीका लेखक निलाञ्जन मुखोपाध्यायले भने, ‘प्रधानको राजीनामा निश्चित रूपमा आश्चर्यजनक हो, किनभने पछि हट्नु मोदीको स्वभाव होइन ।’
उनका अनुसार सन् २००१ मा गुजरातका मुख्यमन्त्री बनेपछि निर्माण हुँदै आएको ‘ब्रान्ड मोदी’ माथिको यो सबैभन्दा ठूलो आघात हो ।
‘२५ वर्ष लगाएर बनाइएको ब्रान्डलाई गम्भीर क्षति पुगेको छ,’ उनले भने, ‘यसबाट उनी तत्कालै उकासिन सक्छन् भन्नेमा म विश्वस्त छैन ।’
सुरुआतमा सरकारले आन्दोलन नियन्त्रणमा लिन सकिने विश्वास गरेको थियो । तर जुलाई २० मा संसदतर्फ मार्च गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गरेको बल प्रयोग उल्टै सरकारकै लागि प्रत्युत्पादक बन्यो । त्यसले आन्दोलनप्रति जनसमर्थन बढायो र परीक्षा प्रश्नपत्र चुहावटविरुद्धको आक्रोशलाई युवाको व्यापक असन्तुष्टिको प्रतीकमा रूपान्तरण गरिदियो ।
विपक्षी दल र नागरिक समाजका विभिन्न समूह आन्दोलनको पक्षमा उभिए भने प्रहरी दमनका दृश्यहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका थिए ।
आन्दोलनको प्रभाव बढ्दै जाँदा अडान कायम राख्नुको राजनीतिक मूल्य सरकारले बेहोर्नुपर्ने जोखिमभन्दा महँगो देखियो ।
राजनीतिक टिप्पणीकार अजय बोस भन्छन्, ‘यी युवाले देखाइदिएका छन्–यदि तपाईँ उठ्नुभयो भने सफल हुने सम्भावना हुन्छ । उनीहरूले डरको पर्खाल भत्काइदिएका छन् ।’
उनका अनुसार यस आन्दोलनले मोदी र उनको दक्षिणपन्थी भारतीय जनता पार्टी (भाजपा) अजेय छन् भन्ने धारणा पनि कमजोर बनाइदिएको छ ।
मोदी अझै पनि केन्द्रमा, तर चुनौती बढ्दो
यी झट्काहरूका बाबजुद मोदी अझै पनि भारतीय राष्ट्रिय राजनीतिमा प्रभावशाली छन् । सरकारले संकटलाई नियन्त्रणमा लिन परीक्षा प्रश्नपत्र चुहावटसम्बन्धी कानुनी सुधार गर्ने र दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
यो आन्दोलन त्यतिबेला भएको हो, जतिबेला भाजपा पञ्जाब, गुजरात र उत्तर प्रदेशका महत्त्वपूर्ण निर्वाचनको तयारीमा छ । विभाजित भारतीय विपक्षका लागि भने यो आन्दोलन सरकारमाथि दबाब सिर्जना गर्ने दुर्लभ अवसर बनेको छ । तर बोसका अनुसार युवाको असन्तुष्टिलाई मतमा रूपान्तरण गर्न विपक्षी दलहरू एकताबद्ध हुन सक्नुपर्छ ।
विश्लेषकहरूका अनुसार मोदीले सडकमा मात्र होइन, सामाजिक सञ्जालमा पनि ठूलो चुनौती सामना गरेका छन् । आन्दोलनले भारतको डिजिटल राजनीतिक परिदृश्य तीव्र रूपमा बदलिइरहेको देखाएको छ, जहाँ भाजपा पहिलेजस्तो प्रभावशाली छैन ।
मिशिगन विश्वविद्यालयका प्राध्यापक जोयोजित पाल भन्छन्, ‘सरकारले आफ्नो नेटवर्क विस्तारमा ध्यान दियो, तर एल्गोरिदम कसरी बदलिँदै गयो भन्नेमा ध्यान दिएन ।’
बुधबारसम्म भाजपाको इन्स्टाग्राम खातामा करिब ९६ लाख फलोअर थिए भने मे महिनामात्र सुरु भएको सीजेपीका २ करोड ६० लाखभन्दा बढी फलोअर पुगिसकेका थिए ।
पहिलेजस्तो राजनीतिक विमर्श नियन्त्रण गर्नुभन्दा अहिले भाजपा इन्स्टाग्राम र एक्समा भाइरल भइरहेका रिल्स र मिम्स को लहरसँग जुध्न बाध्य भएको छ ।
यसले विशेषगरी जेन–जी पुस्ताबीच इन्टरनेट संस्कृतिले असहमतिका आवाजलाई कसरी आकार दिइरहेको छ भन्ने देखाएको छ ।
युवा मतदातासँग जोडिन खोज्दै मोदीले परीक्षा प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा कारबाही गर्ने प्रतिबद्धतासहित ठाडो फ्रेममा खिचिएका दुई सेल्फी शैलीका भिडियो सार्वजनिक गरे ।
यो शैली उनका परम्परागत, योजनाबद्ध भिडियोभन्दा फरक थियो । तर ती भिडियोहरू पनि सामाजिक सञ्जालमा व्यंग्य र आलोचनाको विषय बने ।
प्राध्यापक पालका अनुसार यो घटनाले सरकारको आलोचना छिट्टै फैलिन सक्ने प्रमुख माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भइसकेको पुष्टि गरेको छ ।
उनले भने, ‘सामाजिक सञ्जाल भारतका साना सहरसम्म पुगेको छ र युवा पुस्ताबीच लगभग सर्वव्यापी बनिसकेको छ
सरकारको आलोचना गर्ने ठाउँहरू साँघुरिँदै जाँदा खुला रहने प्रत्येक डिजिटल मञ्च असहमतिको महत्त्वपूर्ण माध्यम बन्छ ।’




प्रतिक्रिया