काँग्रेस पंक्तिलाई निश्कल राईको अपिलः सामाजिक सञ्जालबाट सरकारलाई खबरदारी गरौं

काँग्रेस पंक्तिलाई निश्कल राईको अपिलः सामाजिक सञ्जालबाट सरकारलाई खबरदारी गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–कांग्रेस प्रमुख सचेतक निश्कल राईले बढ्दो महँगी र अत्यावश्यक वस्तुको अभावबाट सर्वसाधारण प्रभावित भइरहेका बेला सरकार जनजीविकाका मुद्दामा गम्भीर बन्न नसकेको आरोप लगाएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले बजारमा महँगी चुलिएको, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या देखिएको अवस्थामा पनि सरकारले नागरिकका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न नसकेको बताए ।

सरकार जनसरोकारका विषयभन्दा अन्य गतिविधिमै केन्द्रित रहेको टिप्पणी गर्दै उनले जनता दैनिक उपभोगका वस्तुको अभाव र मूल्यवृद्धिको मार खेपिरहेका बेला सरकार जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए ।

राईले कांग्रेसका नेता–कार्यकर्तालाई सदनदेखि सामाजिक सञ्जालसम्म सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्न आग्रह गरे ।

फरक प्रसंगमा उनले पहिचानका नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताए ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमै उनले पहिचानको अधिकार स्थापित हुनुपर्ने भए पनि त्यसका नाममा समाजलाई विभाजित गर्ने गतिविधि स्वीकार्य नहुने बताए ।

आफ्नो पहिचानको सम्मान खोज्नेले अरूको पहिचानको पनि सम्मान गर्नुपर्ने भन्दै उनले यही लोकतन्त्रको मूल्यमान्यता र कांग्रेसको दृष्टिकोण भएको बताए। आदिवासी जनजातिको पहिचान र अधिकारका लागि पार्टीभित्र र राज्यका सबै निकायमा संघर्ष जारी रहने उनको भनाइ थियो ।

पछिल्लो समय इतिहास र पहिचानलाई भावनात्मक रूपमा प्रयोग गरेर राजनीतिक लाभ लिन खोजिएको आरोप लगाउँदै उनले यस्तो प्रवृत्तिले समाजलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिए ।

इलामको सामान्य किसान परिवारमा जन्मिएर विभिन्न समुदायबीच हुर्किएको उल्लेख गर्दै उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक चरित्र नै मुलुकको शक्ति भएको बताए ।

आफू जन्मका आधारमा नभई विचार र सिद्धान्तका आधारमा कांग्रेसमा आबद्ध भएको उल्लेख गर्दै उनले कांग्रेसको मूल सिद्धान्त यथावत् रहे पनि कार्यशैलीमा रूपान्तरण भइरहेको दाबी गरे ।