काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाण्डु महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिपक रञ्जित निर्विरोध निर्वाचित भएका छन् ।
काठमाण्डु महानगरको निर्वाचन समितिको कार्यक्रम अनुसार शुक्रबार उम्मेदवारी दर्ता गर्ने समय अपराह्न १२ बजेसम्म निर्धारित थियो । निर्धारित समयसम्म अध्यक्ष पदमा रञ्जितको मात्रै एकल उम्मेदवारी परेकाले रञ्जित निर्विरोध निर्वाचित भएका हुन् ।
सदस्य पदका अन्य उम्मेदवार समेत सर्वसम्मत भएका छन् ।
प्रहरी सेवामा छँदा काठमाण्डु, ललितपुर र भक्तपुरको नेतृत्व सम्हाल्ने अवसर हालसम्म दिपक रञ्जितले मात्र पाएका छन्, उनी काठमाण्डुको भूगोलसँग परिचित अनुभवी अवकाशप्राप्त प्रहरी अधिकृत हुन् ।
राप्रपा काठमाण्डु महानगरको निर्वाचन कार्यक्रम सम्पन्न भए पनि घोषणासभा शनिबार बिहान ८ बजे, अनुपम फूडल्याण्ड बत्तीसपुतलीमा हुनेछ । घोषणा सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया