काठमाण्डु – प्रतिनिधि सभाको शुक्रबारको बैठकमा ४ विधेयक प्रस्तुत भएका छन् ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गरिन् । ती विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्दा कुनै पनि सदस्यको विरोधको सूचना प्राप्त नभएकाले प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी समितिको प्रतिवेदन, २०८३ पेश गरे । प्रतिनिधि सभाको अर्काे बैठक साउन २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।




प्रतिक्रिया