१५ वर्षपछि डेनमार्कमा १९७४ एडीको कन्सर्ट, झुमे नेपाली

१५ वर्षपछि डेनमार्कमा १९७४ एडीको कन्सर्ट, झुमे नेपाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१९७४ एडीले फ्रान्स र डेनमार्कमा कन्सर्ट गरेको छ। दुवै कन्सर्टमा ७ सयभन्दा बढी दर्शक सहभागी भएका थिए। फ्रान्समा भने ब्यान्डले पहिलोपटक कन्सर्ट गरेको हो।

डेनमार्कमा ब्यान्डले करिब १५ वर्षपछि पुनः कन्सर्ट गरेको हो। कन्सर्ट ‘तिमीलाई पीरतीले बाँधौँला’ गीतबाट सुरु भएको थियो। गीत सुरु भएसँगै दर्शक उत्साहित भएर झुमेका ब्यान्डका म्यानेजर अनुज कार्कीले बताए।

१५ वर्षअघि डेनमार्कमा कन्सर्ट गर्दाको समय र अहिलेको माहोल फरक भए पनि नेपाली भाषाप्रतिको प्रेम भने उस्तै पाएको ब्यान्डका सदस्य मनोज कुमार केसीको अनुभव छ।

‘२०११ मा डेनमार्कमा कन्सर्ट गर्न आउँदा र अहिलेको माहोल धेरै फरक पाएँ। तर एउटा कुरा भने उस्तै रहेछ-नेपाली भाषाप्रतिको प्रेम,’ उनले भने।

विदेशी भूमिमा नेपाली भाषामा नेपाली गीत गाएर दर्शकलाई एकैछिन भएपछि खुसी बनाउन पाउँदा खुसी लागेको ब्यान्ड सदस्य मनोजकुमार केसीले बताए।

यस्तै, ब्यान्ड सदस्य मनोज सिंहले १९७४ एडिको फ्रन्सको पेरिस अर्थात् ‘प्रेमको सहर’ मा पहिलोपटक कन्सर्ट भएको बताए।

‘प्रेमको सहर फ्रान्समा पहिलोपटक कन्सर्ट गर्न पाउँदा निकै खुसी लाग्यो। नेपाली गीत लिएर यहाँका नेपाली दर्शकमाझ प्रस्तुत हुन पाउनु नै हाम्रो लागि विशेष भयो’ सिंहले भने।

ब्यान्डका संस्थापक निराकार याक्थुम्बाले विदेशमा रहेका नेपालीलाई संगीतमार्फत् विभिन्न सहरमा जोड्दै आफ्ना गीत सुनाउन पाउँदा गर्व लागेको बताए।

उनका अनुसार पहिले विदेशमा कन्सर्ट गर्दा नेपाली दर्शकको संख्या कम हुने गरेता पनि अहिले विश्वका विभिन्न ठाउँमा नेपाली समुदाय फैलिएको छ।

‘विदेशमै जन्मिएर हुर्किएको दोस्रो पुस्ता पनि नेपाली कन्सर्टमा सहभागी भएर नेपाली भाषाका गीतमा रमाएको देख्दा खुसी लाग्यो’ याक्थुम्बाले भने।

ब्यान्डले अगस्ट १५ मा पोल्यान्ड, अगस्ट २० मा माल्टा र अगस्ट २३ मा बेल्जियममा प्रस्तुति दिने तालिका छ। ‘आइ पपर्स’ को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदैछ।

हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।