काठमाण्डु– चीनले भाेटेकाेसी बाढी पिडितका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ।
चीनको पीएलए वायुसेनाका दुईवटा वाई–२० कार्गो विमानमार्फत ल्याइएको राहत सामग्री आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
चिनियाँ दूतावासका अनुसार बिहान करिब ७ बजे विमानमार्फत १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको हो। राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।

राहत सामग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्याक र प्राथमिक उपचार किटलगायत सामग्री रहेका छन्।
चीनले राहत सामग्रीसँगै उद्धार उपकरणसहित चारजना सुरुङ उद्धार विज्ञसमेत नेपाल पठाएको छ। उनीहरूले विपद्का क्रममा सुरुङमा फसेकाको उद्धार तथा सम्बन्धित प्राविधिक कार्यमा सहयोग गर्ने जनाइएको छ।




प्रतिक्रिया