काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले विपत्तिको समयमा सरकारलाई सबै प्रकारको सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर मद्दत गर्ने बताए ।
‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्याउनु हो’, थापाले भने ।
अहिले निम्तिएको बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय कांग्रेसले गरेको पनि उनले बताए ।
सभापति थापाले सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेकाहरूको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने बताए । ‘नेपालसँग पर्याप्त विज्ञता नभएको खण्डमा बाहिरबाट मद्दत लिन संकोच मान्न हुन्न’, उनले भने ।
उनले विपद्का बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वभाविक भएको पनि बताए । विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै थापाले संघीय सरकारलाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिए ।
उनले स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने बताए । बैठकमा थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसदह र देशभरका निर्वाचित जनप्रतिनिधिहरूलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरे ।
यस्तै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद् व्यवस्थापन र राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई मुख्य जिम्मेवारी दिनुपर्ने सुझाव दिए । केन्द्रीकृत सोचले गर्दा राहत वितरणमा ढिलाइ भएको र पीडितले सास्ती पाइरहेको उनको भनाइ छ ।
हालै नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर फर्किएको बताउँदै आङ्देम्बेले राहत सामग्री एकै ठाउँमा थुप्रिने तर पीडितले खान नपाउने अवस्था आउनु दुःखद भएको बताए ।
नेता आङ्देम्बेले विपद् व्यवस्थापनमा तीन तहका सरकारबिच समन्वयको अभाव खड्किएको पनि बताए । ‘सर्च र रेस्क्यूमा सेना–प्रहरीको भूमिका उत्कृष्ट रहे पनि राहतको काममा भने समन्वय देखिएन,’ उनले भने, ‘संघ सरकारले प्रदेश र स्थानीय तहलाई अझै पनि उचित प्राथमिकता दिएको छैन ।’




प्रतिक्रिया