काठमाण्डु- नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरसहितको टोलीले ब्लास्टिङ गर्ने भएको छ ।
उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।
यसअघि उद्धार टोली दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २ फिट चौडाइ र ३ फिट उचाइको प्वाल बनाउन सफल भएको थियो। उक्त प्वालबाट डोरीको सहायताले टोली सुरुङभित्र झरेर आवाज दिए पनि भित्रबाट कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।
त्यसपछि उद्धार कार्यलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण प्रयोग गर्नुका साथै ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको छ।
कठिन तथा जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली उद्धार कार्यमा खटिरहेको छ।




प्रतिक्रिया