भोटेकोशी बाढी साझा समस्या हो, साझा विपद् हो भन्ने कुरा सरकारले बुझोस् : अध्यक्ष ओली

भोटेकोशी बाढी साझा समस्या हो, साझा विपद् हो भन्ने कुरा सरकारले बुझोस् : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी–त्रिशूलीमा आएको बाढीलाई साझा समस्या र साझा विपद्का रूपमा बुझ्न सरकारलाई आग्रह गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेल सहितको टोलीले नुवाकोट, रसुवा लगायतका स्थानको स्थलगत अवलोकनपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले सरकारले एक्लै श्रेय लिन खोज्दा चुकिरहेको आरोप लगाए ।

‘यतिबेला कसैको आलोचना गर्ने टीकाटिप्पणी गर्ने समय होइन तर सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बस्यो, एक ढंगले भन्ने हो भने सरकार अगम्य, अप्राप्य त्यस्तो स्थितिमा बस्यो, अदृश्य जस्तो भएर बस्यो,’ उनले भने ।

प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न केन्द्र सरकार हिच्किचाएको उनले आरोप लगाए । ‘प्रदेश सरकार र स्थानीयसँग मिलेर काम गर्नुपर्थ्यो, त्यसका लागि होइन श्रेयका लागि लागिपरेको देखियो,’ उनले भने ।

सरकारले पर्वतारोहणको उद्धार गर्ने समूहको दक्षताको मद्दत पनि नलिएको उनले बताए । ‘राज्य र जनता मिलेर साझा समस्या समाधान गर्नुपर्नेमा सरकार एक्लै श्रेय लिन खोज्यो । एक्लै श्रेय लिन खोज्ने कुरा डुब्ने कुरा हो, पाउने सम्भावना छैन । एकल प्रयासबाट रहरले सफलता पाउने विषय होइन,’ उनले भने, ‘अझै पनि सरकारले आफ्नो दृष्टिकोण र भूमिका स्पष्ट पारोस् ।’