बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकाय, ग्यास उद्योगी तथा सरोकारवालासँग निरन्तर संवाद र समन्वय गरेपछि काठमाण्डु उपत्यकासहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो ।

मन्त्री यादवको पहलपछि नेपाल आयल निगमले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाएको छ ।

रिफिल गरिएका एलपी ग्यास सिलिन्डर कृष्णभीरको सडक नखुलेसम्म वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाण्डु उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री–वितरण गरिनेछ ।

पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्यांकर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाण्डुसम्म ल्याउने व्यवस्था समेत मिलाइएको नेपाल आयल निगमले जनाएको छ ।

बाढीका कारण सडक अवरुद्ध भएर ग्यास आपूर्तिमा समस्या देखिएपछि मन्त्री यादवले तत्कालै सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सञ्चालन गराउन पहल गरेका थिए । सोही पहल र समन्वयपछि काठमाण्डु उपत्यकामा ग्यास अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापन गरिएको छ ।