काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुन: सञ्चालनमा आएको छ ।
जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुन: सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ ।
बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबिच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुन:स्थापनाको कामलाई तीव्रता दिएका थिए । प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुन:स्थापित भएसँगै स्थानीय वासिन्दाको दैनिक जनजीवन समेत क्रमश: सामान्य बन्दै गएको छ ।
प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ ।




प्रतिक्रिया