काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल र सिंगापुरका परराष्ट्रमन्त्री डा. भिभियन बालकृष्णनबिच सोमबार टेलिफोन वार्ता भएको छ ।
सिंगापुरका परराष्ट्रमन्त्री डा. बालकृष्णनले नेपालका परराष्ट्रमन्त्री खनाललाई बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाए ।
वार्ताका क्रममा मन्त्री बालकृष्णनले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा नेपाली अधिकारीहरूले गरेको तत्काल र समन्वित प्रयासको प्रशंसा गरे । उनले नेपालको आवश्यकताका आधारमा सिंगापुर सरकार मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताए । सिंगापुरले जारी खोज तथा राहत कार्यमा सहयोग पुर्याउन विपद् पीडित पहिचान टोली र ड्रोन सहयोग उपलब्ध गराउने तयारी समेत गरेको छ ।
वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्पछिको खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए । उनले बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर भइरहेको बताएका थिए । मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा सिंगापुर सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् ।
रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला टेलिफोन वार्ता भएको छ ।




प्रतिक्रिया