नेपालको अनुरोधमा दक्षिण कोरियाले ४४ सदस्यीय विपद् प्रतिकार्य टोली पठाउँदै, आजै आउने

नेपालको अनुरोधमा दक्षिण कोरियाले ४४ सदस्यीय विपद् प्रतिकार्य टोली पठाउँदै, आजै आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दक्षिण कोरियाले नेपालको रसुवा क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ।

नेपालले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि सहयोग गर्न अनुरोध गरेपछि टोली पठाउने निर्णय गरिएको दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका विकास सहयोगसम्बन्धी महानिर्देशक ली क्यु–होको नेतृत्वमा ४४ सदस्यीय कोरिया डिजास्टर रेस्पोन्स टिम नेपाल आउने छ। टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी र राष्ट्रिय अग्नि नियन्त्रण निकायका कर्मचारी तथा अधिकारीहरू रहेका छन्।

टोली आज साँझ दक्षिण कोरियाली सैन्य यातायात विमानमार्फत नेपालका लागि प्रस्थान गर्ने तय भएको छ।

टोली करिब १० दिन नेपालमा रहेर खोज तथा उद्धार कार्यमा सहयोग गर्ने जनाइएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

गत साता आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनामा बेपत्ता भएका ९ जना दक्षिण कोरियाली नागरिकको खोजीका लागि कोरियाले यसअघि नै ‘र्‍यापिड रेस्पोन्स टिम’ नेपाल पठाइसकेको थियो।

दक्षिण कोरियाली टोलीले यसअघि नै बेपत्ता नागरिकहरू रहेको आशंका गरिएको क्षेत्रमा हवाई खोजी अभियान सुरु गरेको छ ।