काठमाण्डु– गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले विपद्बाट क्षतिग्रस्त सडक तथा संरचना तत्काल मर्मतसम्भार गर्न विभिन्न १३ प्रकारका कामका लागि (कोटेसन) दररेट माग गरेको छ।
आयोजनाले गत १४ गते सार्वजनिक सूचना जारी गर्दै योग्य निर्माण व्यवसायीबाट सम्बन्धित कामका लागि दररेट मागेको हो।
सूचनामा ग्याबियन रिटेनिङ वाल निर्माण, सडकको सब–बेस तथा रक फिलिङ, सडक खन्ने, ह्युम पाइप राख्ने, मेसिन मिक्स कंक्रिट प्रयोग गर्ने, ढुंगा सोलिङ तथा बार राख्ने लगायतका काम समेटिएका छन्।
केहिले उक्त सूचनालाई (टेण्डर ) ठेक्का आह्वान भनेर प्रचार गरेको पाइएको छ । तर त्यो टेण्डर नभइ कोटेसन भएको सडक विभागका एक अधिकारीले बताए । ‘ठेक्का भनेर प्रचार भएको छ त्यो कोटेसन हो, यस्ता कामहरू सामान्यतया २–४ दिनभित्र सुरु गरी १०–१५ दिनभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइन्छ। काम गराउन खोजेको हो ‘सर्ट वे बाट’ ।’ उनले भने ।
क्षतिग्रस्त स्टिल ट्रस ब्रिज खोल्ने, ढुंगा तथा माटो हटाउने र दुई लेनको बेली ब्रिज ढुवानी, जडान तथा परीक्षण गर्ने कामसमेत दररेट मागको सूचीमा राखिएको छ।
यी कामहरू विपद्का कारण सडक तथा संरचनामा भएको क्षति व्यवस्थापन गरी यातायात सञ्चालन सहज बनाउने उद्देश्यले अघि बढाउन लागिएको हो। प्रत्येक कामको छुट्टाछुट्टै इकाइ र दररेट उल्लेख गरी निर्माण व्यवसायीबाट प्रस्ताव मागिएको छ।
आयोजनाले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार योग्य बोलपत्रदाताबाट भदौ १७ गते दिउँसो ४ बजेसम्म दररेट बुझाउन सक्ने छन् ।
के हो कोटेसन ?
कोटेसन १० लाखसम्म लागत पर्ने साना तथा तत्काल सम्पन्न गर्नुपर्ने कामका लागि छोटो समयसीमा दिएर प्रस्ताव माग्ने प्रक्रिया हो।
यसअन्तर्गत साना निर्माण तथा मर्मतसम्भारका कामहरू गराउने गरिन्छ। बेली ब्रिज निर्माण, साना पर्खाल लगाउने, ग्याबिन जाली भर्ने तथा मेसिन भाडामा लिने जस्ता कामका लागि कोटेसनमार्फत सूचना आह्वान गरिन्छ।
यस्ता कामको प्रकृति हेरेर ठेक्का वा सम्झौता भएको २–४ दिनभित्र काम सुरु गरी करिब १०–१५ दिनभित्र सम्पन्न गर्ने गरी प्रक्रिया हो ।
टेन्डर प्रक्रियाबाट काम गराउँदा कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्नुपर्ने, त्यसपछि प्रस्ताव मूल्यांकन तथा सम्झौताको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले काम सुरु हुन कम्तीमा ५० दिनसम्म लाग्न सक्छ। विपद्का बेला यति लामो प्रक्रिया कुर्दा आवश्यक काम समयमै सम्पन्न गर्न कठिन हुने भएकाले ‘कोटेसन’ तथा ‘सर्ट वे’ बाट काम गराउने व्यवस्था अपनाइन्छ।
सामान्य अवस्थामा १० लाख रुपैयाँसम्मको लागत भएका काम मात्रै कोटेसनमार्फत गराउन सकिने भए पनि विपद्को समयमा भने आवश्यकताअनुसार ठूलो लागतका कामसमेत कोटेसन वा छोटो प्रक्रियाबाट गराउन सकिने व्यवस्था रहेको छ।




प्रतिक्रिया