हाइड्रोपावर क्षेत्रबाट २७९ जनाको जीवितै उद्धार, त्रिशूली–३ ‘ए’ मा के हुँदैछ ?

हाइड्रोपावर क्षेत्रबाट २७९ जनाको जीवितै उद्धार, त्रिशूली–३ ‘ए’ मा के हुँदैछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। हाइड्रोपावरका टनेलमा फसेका व्यक्तिको खोजीका लागि विदेशीसहितको संयुक्त उद्धार टोली परिचालन गरि खोज कार्य तीव्र पारिएको हाे ।

टोलीले चिलिमे हाइड्रोको टनेलमा करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोको टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ।

त्रिशूली–३ए आयोजनामा टनेल हेड फेला पारेर कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ भने टनेलभित्र जमेको पानी निकाल्ने कार्य जारी छ। तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन रक ब्रेकरमार्फत ढुंगा फुटाउने काम पनि भइरहेको छ।

त्यस्तै, त्रिशूली–३बीमा विज्ञसहितको टोलीले टनेल प्रवेशद्वार पत्ता लगाएर भित्र एक्साभेटर प्रयोग गरी खन्ने काम गरिरहेको छ।

नेपाली सेनाका अनुसार बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न हाइड्रोपावर क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो।

हाइड्रोपावरबाट जीवितै उद्धार गरिएकाकाे संख्या

माथिल्लो त्रिशूली–३बी: २ जना

माथिल्लो त्रिशूली–३ए: २२१ जना

माथिल्लो त्रिशूली–१: ३३ जना

मैलुङ हाइड्रो: ९ जना

देवघाट जलविद्युत्: ५ जना

नुवाकोट सौर्य विद्युत्: ४ जना

त्रिशूली जलविद्युत्: ३ जना

रसुवागढी हाइड्रो: २ जना

यसैबीच, नेपाली सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र थप उद्धार आवश्यकताको मूल्यांकन गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको सेनाले जनाएको छ।

सेनाका अनुसार परिचालित टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रलाई संक्रमणरहित बनाउने उद्देश्यले धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासी, सुनवल नगरपालिका–४ स्थित शव संकलन केन्द्र तथा मुलपानी सामुदायिक वनस्थित शव व्यवस्थापन क्षेत्रलगायतका स्थानमा डिसइन्फेक्सन गरिएको छ। अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा डिसइन्फेक्सन कार्य अघि बढाइने बताइएको छ।

यस्तै मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको छ ।