काठमाण्डु– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाउने काम तीव्र पारिएको छ।
आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको प्राविधिक टोली खोजी तथा उद्धारमा जुटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
उद्धारमा ५ वटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरलगायतका उपकरण प्रयोग भइरहेका छन्।
सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचनासहित ठूलठूला ढुंगा तथा अन्य डेब्रिस थुप्रिएको थियो। रातदिन निरन्तरको प्रयासपछि डेब्रिस पन्छाएर माथिबाट करिब ३ फिट सुरुङको मुख खुलाइएको छ।
सुरुङको मुख केही खुलेसँगै उद्धार टोली भित्र करिब १५–२० मिटर परसम्म पुगिसकेको छ। तर एक्स्क्याभेटर तथा अन्य मेसिनभित्र प्रवेश गराएर खोजी तथा उद्धारलाई तीव्रता दिन सुरुङको मुख पूर्णरूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ।
ठूला ढुंगा हटाउन थप ७ वटा बोल्डर ब्लास्टिङका लागि तयारी गरिएको छ।
करिब १७० मिटर लामो उक्त सुरुङ माटो र लेदोले भरिएको छ। सुरुङभित्रको लेदो र डेब्रिस छिचोलेपछि मात्रै पावरहाउस लगायतका अन्य संरचनामा पुग्न सकिने अवस्था रहेको उद्धार टोलीले जनाएको छ।




प्रतिक्रिया