काठमाण्डु – दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार नेपाल आउँदै छन् ।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढी–पहिरोपछि बेपत्ता भएका आफ्ना नागरिकको खोज तथा अन्यको उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न दक्षिण कोरियाली विदेशमन्त्री चो नेपाल आउन लागेका हुन्।
उनले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गरी भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार प्रयासमा दक्षिण कोरियाले गर्न सक्ने सहयोगबारे छलफल गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयलाई उद्धृत गर्दै द कोरिया टाइम्सले जनाएको छ ।
तीनदिने नेपाल भ्रमणका क्रममा सोमबारसम्म चोले नेपाली विदेशमन्त्री खनालसँग वार्ता गर्ने तथा बेपत्ता भएका कोरियाली नागरिकका परिवारसँग भेट गर्नेछन् ।
बाढीमा रसुवा जिल्लामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता छन् । उनीहरूमध्ये डुसान एनर्बिलिटीका ६ जना र कोरिया साउथ–इस्ट पावरका ३ जना छन् । उनीहरू सबै जलविद्युत् आयोजना निर्माणस्थलमा काम गरिरहेका थिए ।
मन्त्री खनालसँगको वार्ताका क्रममा चोले बेपत्ता भएका आफ्ना नागरिकको खोजी कार्यलाई सहज बनाउन र तीव्रता दिन नेपालसँग सहयोगको आग्रह गर्ने अपेक्षा गरिएको छ । साथै, दुवै पक्षले प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सहयोगका उपाय र आपसी चासोका अन्य विषयमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, चोले विपद् प्रभावित क्षेत्रमा खटिएको कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) लाई हौसला प्रदान गर्ने तथा आफ्नै स्तरमा खोजी कार्य गरिरहेका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग घटनास्थलमै पुगेर हौसला दिने दिनेछन् ।
सरकारले खोज तथा उद्धार कार्यमा सहयोग गर्न पठाएको केडीआरटीले नेपाली अधिकारी तथा कम्पनीका उद्धार टोलीसँग सहकार्य गर्दै हेलिकोप्टर, ड्रोन, खोजी कुकुर तथा अन्य उपकरणको प्रयोग गरी बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ ।
नेपाल भ्रमण पछि मन्त्री चो फ्रान्सका राष्ट्रपति ली जे म्युङको राजकीय भ्रमणमा सहभागी हुन सिधै पेरिस जाने छन् । नेपाल भ्रमण पूरा गरेलगत्तै दक्षिण कोरियाका विदेशमन्त्री चो फ्रान्स जानेछन्।




प्रतिक्रिया