काठमाण्डु– काठमाण्डु नेपाली कांग्रेसका सभापति गगन थापाले गत बर्ष भाद्र २३ गते भएकाे जेनजी प्रदर्शनमा भएकाे दमन र युवाहरूको मृत्युको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
भाद्र २३ को घटनाको एक वर्ष पुगेको अवसरमा मंगलबार भिडियो वक्तव्य जारी गर्दै थापाले मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
थापाले घटनामा ज्यान गुमाएका युवाहरू किन मारिए र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाउँदै सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन्। केही व्यक्तिलाई पक्राउ गरेर मात्रै जिम्मेवारी पूरा नहुने भन्दै उनले सत्य स्थापित हुनुपर्ने र गलत गर्नेले दण्ड पाउनुपर्ने बताएका छन्।
उनले भाद्र २३ गते युवाहरू भ्रष्टाचारमुक्त राज्य, जवाफदेहिता, सुशासन र समान अवसरको मागसहित सडकमा आएको उल्लेख गर्दै ती माग जायज रहेको बताए।
थापाले उक्त आन्दोलन कुनै व्यक्ति वा समूह विशेषको नभई एउटा पुस्ताकै आवाज भएको भन्दै त्यसबाट उठेका माग पूरा गर्ने जिम्मेवारी सबैको भएको बताएका छन्।
उनले जनताको मागअनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचारमुक्त, जवाफदेही र सुशासनयुक्त राज्य निर्माणका लागि भएको शहादतलाई खेर जान नदिने संकल्पसमेत व्यक्त गरेका छन्।
यस्ताे छ उनकाे भनाइ
गएको भाद्र २३ को घटनामा मृत्युवरण गर्ने सम्पूर्ण सहिदहरूप्रति म हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। त्यो दिन जजसले आफ्नो जीवन गुमाउनु भयो, उहाँहरूप्रति पनि हार्दिक श्रद्धा अर्पण गर्छु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।
एक वर्ष भइसक्यो, तर पनि आफ्नो सन्तान गुमाउने बाआमाको मनको पीडा उस्तै होला। आफ्नो प्रियजनहरू गुमाइसकेपछाडिको जुन रिक्तता हुन्छ, त्यसलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ। केवल यति भन्न सक्छु, हार्दिक समवेदना।
भाद्र २३ भन्दा केही दिनअगाडि त्यो बेलाको संसद्मा त्यो बेलाको प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मैले एउटा कुरा भनेको थिएँ। ‘प्रधानमन्त्रीजी, हामीले जे गरिरहेका छौँ, ठीक गरिरहेका छैनौँ। हामीले जे गरिरहेका छौँ, नागरिकहरूले त्यसलाई मन पराइरहेका छैनन्। हामीसँग सङ्ख्या छ तर हामीले विश्वास गुमाएका छौँ। हाम्रो कामको ढङ्ग मिलेको छैन, रङ्ग मिलेको छैन, हाम्रो गति ठीक छैन, हाम्रो मति ठीक छैन। हामीले सच्चिनुपर्छ। सच्चिएनौँ भने ठूलो असन्तुष्टि विस्फोट हुन्छ।’
हामीले बुझ्यौँ तर जसले बुझ्नुपर्ने थियो, उसलाई हामीले बुझाउन सकेनौँ। जे नहोस् भनेका थियौँ, त्यही भयो। अन्ततः ठूलो असन्तुष्टि विस्फोट भयो। आज एक वर्ष पुगेको यो तिथिमा म त्यो भाद्र २३ लाई सम्झिएर दुइटा कुरा राख्न चाहन्छु। एउटा माग र एउटा बाचा।
भाद्र २३ गते अबोध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए। तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो। त्यत्रा नौजवानहरू मारिए। किन मारिए? के कारणले गर्दा मारिए? के यसको जिम्मेवारी कसैले लिनुपर्दैन? के सत्यतथ्य बाहिर आउनुपर्दैन? के सत्य स्थापित हुनुपर्दैन? के केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पूरा हुन्छ? के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन? जिम्मेवारी हो। त्यसैले हाम्रो माग छ, सत्यतथ्य सार्वजनिक होस्, सत्य स्थापित होस् र जसले गलत गरेको छ, उसले दण्ड पाओस्।
भाद्र २३ गतेको अर्को एउटा पक्ष पनि छ। त्यो दिन नौजवानहरू केवल एउटा सरकारका विरुद्धमा नाराबाजी गर्न मात्र सडकमा आएका थिएनन्। उनीहरूको स्पष्ट माग थियो, भ्रष्टाचारमुक्त राज्य, जवाफदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको समाज। ती मागहरू जायज थिए। ती जायज मागहरू पूरा नभएको कारणले गर्दा व्यक्त भएको आक्रोश पनि जायज थियो। आक्रोशलाई हामीले समयमा बुझेनौँ, त्यसको जिम्मेवार हामी हौँ। तर ती मागहरू पूरा गर्ने जिम्मेवारी कसको हो?
हामी सबैको हो। किनकि त्यो दिन सडकमा कुनै एउटा व्यक्ति मात्र आएको थिएन, कुनै एउटा समूह मात्र आएको थिएन, सबै आएका थिए। एउटा पुस्ता नै आएको थियो। त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन। त्यो हामी सबैको जिम्मेवारी हो। हामी सबैको भागमा केही न केही कुरा परेको छ र हामीले आफ्नो ठाउँबाट ती कामहरू पूरा गर्नुपर्नेछ।
म र तपाईँहरूको मागअनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो बाचा हो। भ्रष्टाचारमुक्त राज्य, जवाफदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन शहादत दिएको छ, त्यो शहादतलाई हामी खेर जान दिन्नौँ, यो हाम्रो सङ्कल्प हो।




प्रतिक्रिया